गोर्खा भूतपूर्व सैनिकका समस्याको लागि हाम्रो मिसन सार्थक बन्दैछ : सभापति राई


ओकेजनता डेस्क
२२ फाल्गुन २०७८, आईतवार

बेलायत र नेपाल सरकारबीच गोर्खा भूतपूर्व सैनिकका समस्या समाधानका निम्ति त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ । लामो समयदेखि गोर्खाले उठाएका मागहरुमा बेलायत सरकार लचिलो बन्दै गएको छ । यसै विषयमा हामीले लामो समय गोर्खाका हरेक समस्यामा आवाज उठाउँदै आउनुभएका र यो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईसँग कुराकानी गरेका छन् ।

१) बेलायतस्थित नेपाली राजदूतावासमा तपाईंहरुको बैठक बसेको भन्ने सुनियो, खास के विषयमा छलफल भयो ?

हिजोको बैठक नवनियुक्त राजदूत ज्यूलाई हाम्रो तर्फबाट स्वागत र परिचय आदानप्रदानको लागि हो । तर, पनि चाँसोको विषय भएकोले वार्ताबारे पनि छलफल भयो ।
२) छलफलमा खास के विषय थिए ?

मूलत वार्ता समितिबारे र वार्तामा हुनसक्ने, उठ्न सक्ने विषयहरुमा कसरी प्रस्तुत हुने भन्नेमै केन्द्रीत थियो ।

३) वार्तामा गोर्खाहरुबाट कुन–कुन संस्था र संस्थाका कुन–कुन व्यक्तिहरु सहभागी हुन्छन् ?
नेपाल सरकार, बेलायत सरकार र भूपूहरुको तर्फबाट तीन–तीन जना हो । भूपूहरुको तीनजना मध्ये एक जना चाहीँ मेजर जुद्ध गुरुङ बस्ने सहमति भइसकेको छ । बाँकी दुई जनाको चाहीँ प्रस्तावित रुपमा नाम पठाइसकेका छौँ । यो विषयमा सरकारले नाम सार्वजनिक गर्ने नै छ भन्नेमा विश्वस्त छौँ । तथापी त्यो स्वागत र परिचयात्मक भेटमा छलफल भएअनुसार र विषयगत विषयमा प्रस्तुतीका लागि राजदूतावास लण्डनमा पूर्व महामहिम राजदूत लोकदर्शन रेग्मीज्यूद्वारा पाँचजना अध्यक्षहरु सम्मिलित एक निर्देशक कमिटी गठन गर्नुभएको थियो, त्यहीँ निर्देशक कमिटीबाटै प्रतिनिधि भएर वार्तामा बस्ने निचोडमा पुगेका छौँ ।

४) इतिहासमा प्रथम पटक हुने वार्ता र संवादबाट गोर्खा र नेपालको पक्षमा प्रतिफल प्राप्त हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
वार्ता भनेको सम्झौता पनि हो र सफलता पाउनका लागि प्रस्तुत विषयहरुमा हाम्रो तर्फबाट तथ्यपरक र दमदार प्रस्तुती दिन सक्नुपर्छ । यसको प्रत्येक विषयहरुमा नेपाल सरकारको प्रतिनिधि र निर्देशक कमिटीबीच घनिघूत र गम्भीर रुपमा छलफल हुनु आवश्यक छ । साथै दमदार प्रस्तुती र एउटै आवाज हुन आवश्यक छ । बेलायती पक्षबाट उठेका विषयहरुलाई दमदार र गाम्भीर्यताका साथ खण्डन र प्रतिवाद गर्न सक्नुपर्दछ । यसका लागि विषयगत रुपमा गम्भीर सघन गृहकार्य गर्न जरुरी छ ।

यसो भन्दै गर्दा सफलता प्राप्त गर्नका लागि अर्को मुख्यकुरा भनेको हाम्रो बीचमा बोलीले मात्र सहकार्य, कार्यगत एकता होइन व्यवहारमा पनि उतार्न सक्नुपर्दछ । गोर्खाहरुको प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिहरुबीच पूर्ण विश्वासको वातावरण हुन आवश्यक छ । तबमात्र वार्ता गोर्खाहरु र नेपालको पक्षमा हुन सक्छ । यहि कुरालाई मनन गर्दै अघि बढ्नु पर्दछ ।
५) तपाईंहरुको मिसन सफल होस् ।

तपाईं र ओकेजनता परिवारलाई पनि विशेष धन्यवाद, यहाँहरु गोर्खाका मुद्धामा पहिले देखि नै कलम चलाउँदै आउनुभएको छ । आगामी सहयात्रा पनि सँगै रहोस् ।

प्रतिक्रिया दिनुहोस्