काठमाडौं । एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन ।
एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् ।
पूर्व एकता केन्द्र समूहका नेतासमेत रहेका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उनलाई भेट्न हात्तीवन गएका हुन् ।
मंगलबारको भेटमा प्रचण्डले सोमबारको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै मिलेर अघि बढ्न आग्रह गरेको श्रेष्ठ निकट एक नेताले बताए । ती नेताले भने, ‘बुधबार पनि उहाँहरूबीच भेटवार्ता हुँदैछ । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा हामी आफ्ना कुराहरू राख्छौँ ।’
पूर्वएकताकेन्द्रका ती नेताले भने, ‘बैठकमा हामी जान्छौँ । प्रचण्डजीको एकल पार्टी हो भने त हामीलाई जाओ भनिसकिहाल्नुभो ।
मुद्दाको हिसाबले उहाँमा कुनै रियलाइजेसन छ कि छैन भन्ने हामी हेर्छौँ । एमसीसी अनुमोदन गर्ने निर्णय महाधिवेशनको नीति विपरीत छ । महाधिवेशनको निर्णय हामीले भनेको कुरा हो कि उहाँले भनेको सही हो, हामी बैठकमा छलफल गर्छौँ ।’
प्रचण्डले माओवादी पार्टीलाई विघटनको दिशातिर लगेको ती नेताले आरोप लगाए । उनले भने, ‘प्रचण्डजीले माओवादी पार्टीलाई सिध्याउनुभो । महाकाली सन्धिको पनि बचाउमा बोल्नुभयो ।
वामदेव गौतमलाई भनेको हेर्नु न, उहाँ त कहाँ जानुभो ? विधिको दृष्टिकोणले पनि यो त भिन्न विचारप्रति असहिष्णुता भो नि । उहाँको त शेरबहादुर देउवाजीसँग मिलेर पत्र पठाउने बेलादेखि नै देखियो नि । एकाएक आएको त कुरा हैन ।’
अब संसदीय राजनीतिमा माओवादी पार्टीको अस्तित्व कसरी धान्न सकिन्छ भन्ने कुराबाट प्रेरित भएर प्रचण्ड काँग्रेससँग मिलेको नारायणकाजी निकट ती नेताले आरोप लगाए । उनले भने, ‘यसमा नेपाली काँग्रेस सफल भयो । यो माओवादीलाई सिध्याउने अमेरिकी योजना हो ।
यो एमसीसीको इस्युमा अब माधव नेपालका मान्छे पनि रहँदैनन् माधव नेपालसँग । उनीहरू अब एमालेमै फर्किन्छन् । एमसीसी पास भएपछि माओवादीकै मान्छे एमालेमा गएका छन् ।’