सरकार ! खल्ती रित्तो छ, कसरी बाँचू ?


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपालीमा उखान छ, ‘कि जान्नु, कि भनेको मान्नु’ यहाँ न सबै जानेका छन् न त अरुको भनेको मानेका छन् । जनता यतिबेला कोरोना भाइरस (कोभिड १९) को जोखिमले त्राहीमाम खेपिरहेका छन् । मेरो सरकारले जनताको पक्षमा गृहकार्य त गर्दै होला, आशा अझै मरेको छैन् ।

(एक गरिबको वेदना)
दशैँ नजिकिँदै छ, मीठो मसिनो खाने हाम्रो मौलिक पर्व तर अहिले खल्ती रित्तो छ, कसरी मीठो मसिनो होस् । रत्नपार्कमा सामाजिक अभियन्ताले बाँडेको एक छाक खाएर काठमाडौंका सडक पेटी मेरो ओछ्यान बनेका छन् । खुला आकाश मेरो धूरी ।

दिउँसो दौडिँदै भात खोज्न मेरा खुट्टा लखरलखर गर्छन्, भात खाएर त्यहीँ पीढिमा लखतरान पर्छन । घरबाट फोन आउँदो हो तर मोबाइल पेट पाल्नकै लागि पाँचसयमा एउटाको बन्धकीमा छ । स्वीच अफ छ । अझै मेरो सरकारले मलाई देखेको छैन ।

हुनत मेरो सरकार दूर दृष्टिमा अगाडि बढेको छ । पानी जहाज, रेलका सपना देखिरहेको छ । तर मेरो शरिर तेल नपाएर खस्रिएको छ । पाटापाटा भएको छ, अब त गल्लीका कुकुरले मेरो हुलिया हेर्दा हेला गर्छन् । भुक्छन् म दौडिन्छु । दिनचर्या यसरी बितिरहेको छ ।

मेरो सरकार मन्त्रीमण्डल पुनर्गठनमा व्यस्त छ, प्रदेश राजधानी कहाँ तोक्ने त्यसैको तारतम्य मिलाइरहेको छ । म जस्ता सडकछापलाई मेरो सरकारले देखेको छैन । साच्चै मेरो माया मान्दो हो त, मेरो सरकारले दुई छाक पुग्ने खाना र मेरो नांगिएको शरिर छोप्ने बस्त्रको चाँजोपाजो गर्दो हो तर, मेरो निष्ठूरी सरकार अहिले भुलेछ ।

दशैँको त के कुरा गरौँ मेरो छिमेकीले खसी ढाल्लान, नयाँ बस्त्रमा सजिएलान तर मेरी बिरामी आमा र श्रीमती त्यसको बास्ना लिँदै आफै ढल्लिन् । म कसरी घर जाउँ के लगेर घर जाउँ ।

मेरो स्थानीय सरकारसँग बजेट छैन रे । कोरोना महामारी कम गर्न मेरो सरकारले करोडौँ अरबौ रित्यायो तर कोरोना दिनप्रतिदिन उग्र रुप लिँदै गरेको त्यहीँ सरकारले भन्छ ।

हुनेखानेलाई केही पीर छैन । अप्ठ्यारो मौका छोपी कालोबजारी गरिरहेका छन् उनीहरु रातारात मालामाल भइरहेका छन् । मेरो छिमेकीसँग मेरो दूरी निकै टाढा र लामो भइसकेको छ । ऊ मेरो सरकार नजिक छ, मन्त्री बन्दै छ । तर, म पेट पाल्नकै लागि भात खोज्दै भौतारिरहेछुँ ।

प्रतिक्रिया दिनुहोस्