ओली, देउवा, प्रचण्डलाई अमेरिकाको फोन, एमसीसी कहाँ पुग्यो ? ओलीको कडा जवाफ…


ओकेजनता डेस्क
२८ माघ २०७८, शुक्रबार

काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संसदीय अनुमोदनलाई लिएर रस्साकस्सी भैरहेको बेला अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले विहिबार नेपालका तीन प्रमुख दलका शीर्ष नेताहरुसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा कूटनीतिज्ञ लूले फेव्रुअरी २८ भित्र एमसीसी पारित गर्न आग्रह गरेको सम्बन्धित दलले जनाएका छन् ।

विहिबार बिहान लूले देउवा, दाहाल र ओलीसँग बेग्लाबेग्लै फोन गरेर एमसीसीलाई लिएर भैरहेको पछिल्लो प्रगतिबारे बुझेका थिए ।

एमाले परराष्ट्र मामिला प्रमुख राजन भट्टराईले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री लूबीच बिहीबार बिहान टेलिफोन संवाद भएको बताए । संवादको क्रममा लूले एमसीसी पारित हुने सम्भावनाबारे बुझ्दै जतिसक्दो चाँडो संसदीय अनुमोदन गराउन ओलीलाई आग्रह गरेका थिए ।

जवाफमा ओलीले अमेरिका दशकौंदेखि नेपालको महत्वपूर्ण विकास साझेदार भएको बताउँदै एमसीसीलाई लिएर दुई मुलुकबीचको सम्बन्धमा आँच नआउने बताएको भट्टराईले जानकारी दिए ।

एमसीसीलाई लिएर एमालेको पोजिसन उस्तै रहेको र सत्तारुढ दलले पोजिसन क्लियर गरेपछि मात्र आफूहरुले बोल्ने ओलीले बताएका थिए ।

प्रतिपक्षी दलको रुपमा एमसीसीबारे पोजिसन बनाउने स्थानमा आफ्नो दल नरहेको ओलीले बताएका थिए । देउवा र दाहालसँगको कुराकानीमा पनि उपविदेशमन्त्री लूले एमसीसी छिटो पास गर्न दवाव दिएको निकट स्रोतहरुले बताएका छन् ।

उनै लू हुन् जसले केही महिना पहिले भएको नेपाल भ्रमणमा तीनै शीर्ष नेतालाई भेटेर सम्झौता चाँडो पास गर्न दवाव दिएका थिए ।

अमेरिकाले फेव्रुअरी २८ भित्रै सम्झौता पास गर्न नेपाललाई दवाव दिइरहेको छ । बुधबार अमेरिकी दूतावास र एमसीए कार्यालयका अधिकारीसँगको भर्चुअल छलफलमा एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक प्रमुख जोनाथन ब्रुक्सले पनि उक्त मिति नै अन्तिम मिति हुने बताउँदै कुनै हालतमा पनि सम्झौता संसोधन हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्