एमसीसीबारे कांग्रेसमा यूटर्न : यस्तो आयो नयाँ डिसिजन


ओकेजनता डेस्क
२८ माघ २०७८, शुक्रबार

काठमाडौं । सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि गम्भीर बहस भएको छ ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न हरदम प्रयास गरिरहेका बेला पार्टीभित्र पनि बहसले स्थान पाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको समिति बैठकको एजेण्डा समेत नरहेको एमसीसी माथि छलफल केन्द्रित हुन पुगेको छ ।

चुनावी गठबन्धनको विषयलाई बैठकमा एजेण्डा नभएको भन्दै नबोल्न रुलिङ गरेका देउवाले एमसीसी माथिको बहसलाई स्थान लिएका हुन् ।

बिहीबार दिउँसो साढे २ बजेबाट सुरु भएको बैठकमा १२ जना समिति सदस्यले धारणा राखेका थिए । एमसीसी पास गर्ने विषयमा सबैबाट एकमत प्रकट भएको छ । सत्ता साझेदार दललाई साथमा लिएर एमसीसी पास गर्नुपर्ने उनीहरुको सुझाव छ ।

बैठकमा पूर्व सहमहामन्त्री सुनील थापाले एमसीसी अब चाँडो एमसीसी पास गर्नु उत्तम हुने धारणा राखे । उनले भने, ‘एमसीसी पास गर्दा देशलाई कुनै किसिमको हानी छैन ।

एमसीसी फिर्ता गरिए अमेरिकाले दिने बाँकी अनुदान पनि नआउन सक्छ । हामी संकटमा फस्ने अवस्था हुन्छ ।’ एमसीसी फिर्ता भए नेपालको छवि नराम्रो हुने भन्दै फिर्ता गर्न नहुनेमा थापाको जोड थियो ।

यद्यपि आम जनतामा भ्रम सिर्जना भएका भन्दै यसलाई चिर्न पार्टीले अभियान सुरु गर्नुपर्ने उनले बताए । उनले भने, ‘चुनावमा पनि असर पार्छ । भोलि वामपन्थीहरुले यसलाई राष्ट्रिय मुद्दा बनाएर हाम्रो भोट चोर्छन्,’ उनले भने, ‘त्यसैले एउटा टिमले एमसीसीको एउटा यथार्थ डकुमेन्ट बनाएर जिल्ला जिल्ला गाउँ–गाउँमा पठाउनुपर्छ ।’

एमसीसीबारे काँग्रेसको प्रस्ट धारणा बनाएर पास हुँदा हुने फाइदा जनतालाई बुझाउनुपर्ने थापाको भनाइ थियो । उनले भने, ‘बढीमा एक हप्ताभित्र गाउँ गाउँमा एमसीसीबारे भ्रम चिर्ने गरी पार्टीको धारणा पुग्नुपर्छ ।’ नेता बलबहादुर केसीले पनि सोही धारणा राखेका थिए ।

नेता रमेश रिजाल, आनन्द ढुंगाना, उमा रेग्मी, नारायण खड्काले पनि एमसीसी पास गर्नुपर्ने मत राखेका थिए । यस्तै नेता रामशरण महतले एमसीसी पास गर्नुपर्नेमा जोड दिँदै विस्तृतमा ब्याख्या गरेका थिए ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पुर्याएर टुंग्याउने कुरामा विस्तृत छलफल भएको बताए । उनले भने, ‘एमसीसीको बारेमा पनि बहस भइरहेको छ । नेपाली काँग्रेसमा एमसीसी पास गराउने विषयमा दुई मत छैन ।’

उनले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताए । ‘नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो ।

त्यो अन्योललाई पनि चाँडै समाप्त पार्न संसदमार्फत अघि बढाउनुपर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै दुईमत छैन,’ उनले भने, ‘साथीहरुले यो प्रक्रियाअघि बढाउने र अरु दलहरूको सहमतिमा लाग्ने कुराहरु नै गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्