कोरोनाबाट डराउनु पर्दैन : डोनाल्ड ट्रम्प


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए ।

उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडैले चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुश गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा अहिलेसम्म ७४ लाख ५५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै कोभिड–१९ बाट दुई लाख १० हजार मानिसको ज्यान गएको छ । तर आफै संक्रमित भएपछि पनि ट्रम्पले विवादास्पद टिप्पणी गर्न छोडेका छैनन् ।

ट्रम्पको स्वास्थ्य अवस्थाको गम्भीरतालाई लिएर विवादित वक्तव्य जारी हुने गरेका कारण अझै पनि अन्यौलता कायमै छ । यस्तै ह्वाइट हाउसमा कति जनालाई संक्रमण फैलिएको छ भन्ने कुरा पनि स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बेलुका ट्रम्प मास्क लगाएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् । बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए । ट्रम्पलाई संक्रमण फैलाउने केन्द्रमा रहेको ठानिएको छ ।

वाल्टर रीडबाट बाहिरिनु भन्दा केही पहिले ट्रम्पले ट्वीट गरेका थिए, ‘चाँडै नै चुनावी अभियानमा फर्किने छु । फेक न्यूजले मात्रै फेक सर्वेक्षण देखाउँछ ।’

पछिल्लो पटक सार्वजनिक भएको मत सर्वेक्षणमा डोनाल्ड ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा १४ अंकले पछि परेका देखिएको छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ ।

ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ । ह्वाइट हाउसमा उनको करिब रहेका कम्तीमा १२ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएको छ । तर ह्वाइट हाउसले कति जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ भन्ने अहिलेसम्म खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्