गठबन्धन के हुन्छ थाहा भएन, एमसीसी पास गर्न दबाब आयो भन्दै देउवाको यूटर्न


ओकेजनता डेस्क
१९ माघ २०७८, बुधबार

काठमाडौँ । एमसीसीका विषयमा भएको अन्योलले देशलाई घाटा हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई संसद्बाट अविलम्ब पारित गराउन प्रतिबद्ध देखिएका छन् ।

तर सहयात्री माओवादी केन्द्र र एकीकृत समाजवादीले भने सहमतिबिना सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन् ।

नेपालको हित कसरी हुन्छ भन्नेमा आफू पनि सचेत रहेको तर सहयात्री दलका नेताहरूले नबुझेको भन्दै प्रधानमन्त्री देउवा असन्तुष्ट छन् ।

‘एमसीसी स्वीकार गरे कति आर्थिक सहायता आउँछ भन्ने एउटा कुरा हो, तर सम्झौता अनुमोदन नभए अमेरिका र चीनको भूराजनीतिक चेपुवामा नेपाल पर्छ, देशलाई यो झमेलाबाट जोगाउन सम्झौता पास गर्नुपर्छ, तपाईहरूले साथ दिनोस् भनेर प्रधानमन्त्रीले पटक–पटक भन्नुभएको छ,’ एक मन्त्रीले भने ।

अमेरिकी अनुदान फिर्ता भए त्यसको असर विकास साझेदार संस्था तथा राष्ट्रहरूको सहयोगमा पर्छ भन्नेमा प्रधानमन्त्री चिन्तित रहेको उनको भनाइ छ ।

सम्झौता पारित गराउन अवरोध भए सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने सन्देश पनि प्रधानमन्त्रीले सहयात्रीहरूलाई दिएका छन् । यसका लागि प्रमुख प्रतिपक्षी एमालेको सहयोग लिन पनि उनले समानान्तर संवाद अगाडी बढाएका छन् ।

विषय पेचिलो बन्दै गएपछि मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पालैपालो माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका थिए ।

तर सकारात्मक जवाफ नपाएको कांग्रेसका एक नेताले बताए । ‘विशिष्ट अवस्थामा बनेको गठबन्धन टुटोस् भन्ने हाम्रो अभिप्राय छैन, तर प्रधानमन्त्रीका पनि आफ्नै जिम्मेवारी हुन्छन्, हामी सबैले देशको हित सोचेका छौं । तपाईंहरूबाट रचनात्मक सहयोगको अपेक्षा छ भनेर सन्देश सुनाइएको छ, उहाँहरूसँग लगत्तै निर्णायक संवाद हुने छ,’ ती नेताले भने ।

माओवादीका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने परिमार्जनबिना सम्झौता अनुमोदन गर्न नसकिने अडानमा कायमै छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले ‘सहमतिबिना एमसीसी सम्झौता अगाडि बढाइए’ आफूहरू गठबन्धनमा रहने सम्भावना कम रहेको संकेत गरेका छन् ।

‘संविधान, लोकतन्त्रको रक्षाका निम्ति बनेको यस गठबन्धनको एकतालाई अझ सुदृढ गर्न आवश्यक छ । तर एमसीसी यथास्थितिमा टेबल गर्न वा पारित गर्न सकिँदैन, हाम्रा लागि राष्ट्रिय हित नै सर्वोपरि हुन्छ,’ श्रेष्ठले भने । उनी एमसीसीबारे अध्ययन गर्न गठबन्धनले बनाएको कार्यदलका सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्