आउदो आइतबार देशैभर सार्वजनिक बिदा दिने निर्णय


ओकेजनता डेस्क
१५ माघ २०७८, शनिबार

काठमाडौं । आउँदो आइतबार देशैभरका शिक्षणसंस्थामा सार्वजनिक बिदा दिइएको छ । सरस्वती पूजाको अवसरमा देशैभरका शिक्षण संस्थाले सार्वजनिक बिदा पाएका हुन् ।

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौं । आज सरस्वती पूजा । अर्थात्, श्रीपञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आरधनासहित श्रीपञ्चमी मनाउँछौं ।

आज साना नानीहरुका निम्ति अक्षराम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन हो ।

आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीका साथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।
ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् ।

बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रंगीन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूmलहरू प्रसादीका रुपमा बाँडिन्छ ।

कतिपय विद्यालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रंगीन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विद्यालयहरु सजिसजाऊ रहन्छ ।

कोभिडका कारणले यसवर्षको सरस्वती पूजाको रौनकमा केही कमी भने आउन सक्ने देखिन्छ । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरुमा स्वछन्द विश्वको पुर्नशुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविछिन्न होस् ।

विद्यार्थीहरुका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोशाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रंगीन पोशाकमा विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ ।

काठमाडौंमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरुमा जमघट रहन्छ ।

पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ ।

प्रतिक्रिया दिनुहोस्