एलबीको मृत्युले म अझै छट्पटिरहेको छुँ….


ओकेजनता डेस्क
८ माघ २०७८, शनिबार

…बिहानीको सूर्यको किरणसँगै ब्यूझिएका मेरा आँखा सितिमिति निदाएका थिएनन् । प्रायः बिहान ७ बजेसम्म ओछ्यान छोड्न नमान्ने मेरो शरिर खै त्यो दिन किन–किन सट्पटिएको थियो ।

मोबाइल ताने, फेसबुकतिर आँखा दौडियो । प्रायः एकपटक फेसबुक हेरिसकेपछि ओछ्यानबाट उठ्ने धेरैको दैनिकी नै बनिसकेको होला । फेसबुकमा हेर्दै गर्दा त्यो दिन मेरो लागि लाइक कमेन्टमा मात्रै सिमित बनेन । मैले नजिकबाट चिनेको हरेक पटक म सँग विभिन्न मुद्धामा बहस गर्ने साथीको मृत्युको खबर फेसबुकका भित्तामा यत्रतत्र थियो ।

शुरुमा म पत्याइन, कहाँ हुनसक्छ यो ? मैले नजिकै रहेकी मेरो श्रीमतीलाई भने– एलबी त मरिसकेछ । उनी पनि आत्तिइन् ए कसरी ? कठै ! राम्रो मान्छे थियो है । हाम्रो अनामनगरमा पसल हुँदा आइरहन्थ्यो । मेरो ससुराली अछाम, तत्कालीन समयमा अछाम ¥याप प्रोजेक्टमा काम गर्दा रामारोशनमा मेरो श्रीमती (कल्पना शाह)ले काम गरेकी थिइन् । नेटाकोटको हो त्यो भाई, म त्यहाँ हुँदा सानै थिए होलान ।

नेटाकोटमा त्यतिराम्रो खेतीपाती पनि हुँदैन । प्रायः त्यहाँका मानिसको आर्थिकोपार्जन भारत हो । एक सिजन भारत गएर कमाएर ल्याउने बालबच्चा श्रीमतीलाई पाल्ने, कल्पना र मेरो कुरा भइरह्यो । दलित समुदायबाट उदाएको एक तारा काठमाडौंको मूलधारका मिडियामा आफ्नो पहिचान बनाइरहेको थियो । ऊ निकै खरो र हक्की पनि थियो । मैले फेसबुकका भित्तामा एलबीलाई श्रद्धाञ्जली दिएँ ।

मलाई एलबीको मृत्युको खबरले अनायासै छट्पटी भइरहेको थियो । मैले सोचिरहे, एकपटक फोन सम्पर्क मात्रै भइदिएको भए केही गर्न सकिन्थ्यो की ! मैले त्यसपछि एलबीकै नम्बरमा फोन डायल गरे । उक्त नम्बर उनकै भाइ गौतमको हातमा रहेछ । दाईको मृत्युको खबर र मृत्युको कारणबारे सामान्य जानकारी लिएँ ।

त्यतिमा म सिमित भइन, म सँग जनता टेलिभिजनमा लामो समय काम गरेको मेरो भाइ, सहकर्मी बेलाबखत भेटिराख्ने मित्र गुमाएकोमा निकै पछुतो पनि भइरह्यो । ७ गते बिहीबार पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिन म उपस्थित भए । बिदाईका हात हल्लाउँदै म त्यहाँबाट बाहिरिएँ । शोकमा डुबेको परिवार, उनकी श्रीमती, सानो छोरा यी सबै कुरा मनमा घुमिरहे ।

साँझ घर पुग्दासम्म एलबीको मृत्युको कारण आर्थिक अवस्था नै रहेको फेसबुकमा यत्रतत्र छरिएको थियो । मैले बागमति प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई फोन लगाए । उहाँको फोन उठेन । तर, केहीबेरपछि उताबाट फोन फर्कियो । एलबीको मृत्युको खबर मैले सुनाए ।

दीपेन्द्रजीले पनि यो मृत्युमा पछुतो भएको बताउनुभयो । सिभिल हस्पिटलको स्तरोन्नतीका लागि दीपेन्द्रजीको ठूलो हात छ । बानेश्वर क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी सांसद हुन् श्रेष्ठ । उहाँसँग मैले एलबीको नजिकबाट परिचय गराएको थिए । हामी चियागफमा प्रायः भेटिन्थ्यौँ । यदि बाच्नु थियो भने एक कल दीपेन्द्रजीको मोबाइलमा गएको भए मन बुझाउन त मिल्थ्यो ! यी कुराले मलाई निकै बेचैन बनायो ।

क्रमशः एलबीको मृत्युपछि विभिन्न टिकाटिप्पणी, सामाजिक सञ्जालमा तर्क, कूर्तक आएका छन् । कसैले मेरो पार्टी संगठनमा भएको भए यस्तो हुन्थेन भनेका छन्, कसैले आर्थिक अभावले पत्रकार कहिलेसम्म यस्तो जिन्दगी जिउने भनिरहेका छन् । कति सोझा हुन नेपाली मिडियामा काम गर्ने पत्रकार ? न आफ्नो परिश्रमको महत्व र मूल्य बुझेका छन् न त सम्पन्ननै छन् । यी कुराले अहिले मलाई थप बेचैन बनाइरहेको छ ।

केही संगठनहरुमा नेताको मल्द्वारलाई हरिद्वार सम्झनेहरुको आयस्था बलियो होला । चमेलीको तेल मगमगाइरहेको होला । दुईचार जना वडाध्यक्षलाई थर्काएका होलान्, तर आफ्नो मेहनत र कमाइमा विश्वास गर्ने पत्रकारले सामान्य झुट बोलेर सानो रकम आर्जन गरेको छ भने उसले आफ्नो चुल्हो बाल्नकै लागि हो ।

काठमाडौंमा यो भित्रनै पर्थे एलबी पनि । मलाइ लाग्छ उनी सक्रिय रुपमा कुनै संगठनमा पनि थिएनन् । न उनलाई ठूला नेताले चिन्थे । न उनी कसैसँग ससाना कुरामा हात थाप्थे । यदि उनको स्वभाव चमेली तेलवालाहरुजस्तै हुन्थ्यो भने १२ दिनसम्म बिरामी उनी कसैलाई हात थापिसक्थे ।

नेपाली संस्कृतिमा यो पुरानै रोग हो, मानिसको मृत्यु भइसकेपछि उसको बारेमा निकै वर्णन गरिन्छ, उसको इतिहास कोट्याइन्छ तर ज्यूँदो हुँदा हालखबर समेत सोध्दैन यो काठमाडौँ । यी संगठन । यस्तै..यस्तै… मनोभावनाले अझै मलाई छोडेको छैन ।

खै पत्रकारको न्यूनतम पारिश्रमिक लागू भएको ? खै पत्रकारलाई स्वास्थ्य बीमा ? खोई पत्रकारलाई पेन्सन ? खोई पत्रकारलाई सुरक्षा ? खोई पत्रकारका परिवारको सुरक्षा ? के पत्रकारिता भिखारीले गर्ने पेशा हो ? कि सम्पन्नले ?

उत्तर खोजिरहेको छुँ….

यो लेख सम्पादक खेम बमले लेख्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्