नेपाली सेनाद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बाटो हस्तान्तरण


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोरेटो बाटो हस्तान्तरण तथा उद्घाटन गरेको छ ।

सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार बाटो हस्तान्तरण गर्नुभएको हो ।

घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भएपनि तम्बाकु भिरमा अझैपनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भिर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।

घाँटीबगर ईलाकाको घोरेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भिरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भिरमा सफलतापूर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गर्नुभयो ।

नेपाली सेनाले झण्डै चार महिनाको अबिरल प्रयासपछि व्यास गाउँपालिका–१ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो भिर फोरेर उक्त बाटो निर्माण गरेको हो ।

एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले चट्टानी भिर फोरेर दुई मिटर चौडाइ भएको ५ सय ५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्