ओलीले कुरा मोडेर यसरी जोडिदिए : रामचन्द्र पौडेल


ओकेजनता डेस्क
२२ पुष २०७८, बिहीबार

काठमाडौँ । सत्ता गठबन्धन पाँच दल आबद्ध उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन ।

पौडेलले लामो समय संसद् अवरुद्ध बन्दा जनताको सरोकारका विषय र विकासका मुद्दा ओझेलमा परेको बताउँदै राजनीतिक निकासका लागि ओलीसँग आग्रह गरेका हुन । उनको आग्रहमा ओलीले आफ्ना पुरानै भनाइ दोहो¥याएको पौडेलले बताए ।

संसद् प्रतिपक्षी दलको हो, लामो समय संसद् बन्द हुँदा मुलुक नै अस्तव्यस्त बन्न पुग्यो, एउटा राजनीतिक विषयलाई इगोको रूपमा लिएर मुलुकलाई पछि धकेल्ने काम गर्न भएन, यो अप्ठ्यारो र दुरवस्थाबाट अघि बढ्नुपर्छ, संसद्लाई सुचारु पार्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको पनि हो,’ पौडेलले ओलीसँग राखेका भनाइ उल्लेख गर्दै भने, तर उहाँले पुरानै कुरा दोहो¥याउनुभयो ।’

ओलीले सभामुखले गल्ती नसच्याएसम्म संसद्को गतिरोध नखुल्ने संकेत गरेका थिए । आफ्नो पार्टीले कारबाही गरेका सांसदको सूचना टाँस नगरेर सभामुखले राजनीतिक पूर्वाग्रह लिएको उल्लेख गरेका थिए । पौडेलले सांसदमाथिको कारबाहीको विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अब त्यसैलाई इगो बनाएर संसद्को गतिरोध जारी राख्न नहुने बताएका थिए ।

उनले बहुचर्चित एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा एमालेको सहयोगको अपेक्षा राखेका थिए । देउवासँग सल्लाह गरेरै ओलीसँग भेट्न पुगेका पौडेलले एमसीसीका विषयमा एमालेको प्रस्ट धारणा ल्याउन आग्रह गरेको बताए । ओलीले यस विषयमा प्रधानमन्त्रीले आफूसँग कुरा गर्न नआएको भन्दै गुनासो गरेका थिए ।

तपाईंको धारणा के छ प्रस्ट भन्नुहोस्, प्रधानमन्त्रीसँग म कुरा गर्छुभन्दा ओलीजीले कुरा अन्तै मोड्नुभयो,’ पौडेलले भने, प्रतिपक्षले जिम्मेवारीबोध गर्नुपर्छ । अब पनि संसद् अवरोध जारी राख्नु अति हुन्छ । कहीँ न कहीँ गएर निकास नदिने हो भने राजनीतिक दल गैरजिम्मेवार भएको ठहर्छ । संसद्लाई समस्याको होइन, समाधानको थलो बनाइनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्