बर्षमान बने माओवादीको महासचिव, यस्तो रहेछ प्रचण्ड रणनीति


ओकेजनता डेस्क
२१ पुष २०७८, बुधबार

काठमाडौं । आठौँ महाधिवेशन (११–१८ पुस) बाट माओवादी केन्द्रको पहिलो निर्वाचित केन्द्रीय समितिको बैठकको पहिलो निर्णय थियो, अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) को चयन।

प्रचण्डकै उचाईका कुनै सशक्त प्रतिद्वन्द्वी पार्टीभित्र नदेखिएपछि माओवादी केन्द्रको अध्यक्ष फेरिपनि प्रचण्ड नै बन्छन् भन्ने धेरै अघि नै पक्का थियो । त्यसैले, केन्द्रीय कमिटीको पहिलो बैठकप्रति मानिसहरुको चासो महाधिवेशनपछि माओवादी केन्द्रको महासचिवमा प्रचण्डले कसको नाम प्रस्ताव गर्लान् भन्ने थियो ।

आफुले चाहेको नाम प्रचण्डले प्रस्ताव गर्दा कसैले विमति जनाउने सम्भावना कम थियो। कुनै आकांक्षीले विमति जनायो भनेपनि निर्वाचन हुन्थ्यो । त्यस्तोमा, प्रचण्डले प्रस्ताव गरिसकेको नेताले नै महासचिवमा विजय हासिल गर्नेपनि पक्का नै थियो ।

यसो गर्दा संगठनमा प्रचण्डकै पकड रहेछ भन्ने कुरा आन्तरिक निर्वाचनको माध्यमबाटै पुष्टि हुन्थ्यो । पदाधिकारी समूहलाई टीके टिम’ बनाएको आरोपबाट प्रचण्डले पनि मुक्ति पाउँथे ।

तर, आठौँ महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिबाट आफु अध्यक्ष निर्वाचित भएपछि प्रचण्डले अन्य पदाधिकारीको नाम नै प्रस्ताव गरेनन्, बहुप्रतिक्षित महासचिवको नामपनि प्रस्तुत भएन ।

बरु, प्रचण्ड अध्यक्ष निर्वाचित भएलगत्तै बैठक २५ पुससम्मका लागि स्थगित भयो। पार्टीका दुईजना नेताहरु बर्षमान पुन र ओनसरी घर्ति उपचारका लागि चीनमा हुनुहुन्छ’, बैठकपछि पत्रकारहरुलाई प्रचण्डले स्पष्टिकरण दिए, उहाँहरु आएपछि नै पदाधिकारी चयन गरौँ भनेर २५ पुससम्मका लागि बैठक स्थगित गरिएको हो।’

प्रचण्डले भनेजस्तै, आठौँ महाधिवेशनअघि पार्टी स्थायी कमिटी सदस्य रहेका पुन उपचारका क्रममा यतिबेला चीनमा छन्। गम्भीर प्रकारको जण्डिस रोगका कारण उपचारका लागि १३ असोजमा ब्याङ्कक पुगेका उनी १० मंसिरमा चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन पुगेका थिए ।

नेता पुन मंगलबार (२० पुस) मा मात्र डिस्चार्ज भएका छन् । उनी तीन दिनपछि काठमाडौँ आइपुग्ने बताइएको छ। काठमाडौँ आएपछि उनीपनि उपस्थित हुने गरी २५ पुसका लागि केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको छ ।

आठौँ महाधिवेशनबाट निर्वाचित हुने महासचिवका एक दावेदार थिए पुन। गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकबाट पुन केन्द्रीय सचिवालयको व्यवस्था सहित त्यसको इञ्चार्ज बना०एपछि पुनलाई माओवादी केन्द्रको भावी महासचिवको रुपमा हेर्न थालिएको हो।

महासचिवका अर्का दावेदार जनार्दन शर्माले जिम्मेवारी पाएको संगठन विभागपनि पुन मातहतको केन्द्रीय सचिवालय अन्तर्गत नै राखिएकाले पनि पुनलाई महासचिवका सबैभन्दा सशक्त बलिया दावेदार मान्न थालियो ।

तर जनयुद्धदेखि शान्ति प्रक्रियासम्म निरन्तर प्रचण्डले भरोशा र विश्वास गरेका पुन गम्भीर स्वास्थ्य समस्याका कारण महाधिवेशनमा उपस्थित हुन सकेनन् । पूर्व सभामुखसमेत रहेकी माओवादी नेतृ ओनसरी घर्तिमगरपनि पति पुनको हेरचारका लागि चीनमै भएकाले महाधिवेशनमा सहभागी हुन सकिनन् ।

त्यसपछि सम्भावित महासचिवका रुपमा जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाल चर्चामा रहे । पुन महाधिवेशन हलमा उपस्थित भएको भए सम्भवतः महासचिवका लागि यति धेरै नेताको नाम चर्चामा आउने थिएन ।

केन्द्रीय सदस्य हेमराज भण्डारीका भनाईमा, बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग भनेजस्तै, केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले नेता पुन र नेतृ घर्ती चीनबाट फर्केपछि बैठक बोलाएर पदाधिकारी चयन गर्नु उपयुक्त हुने बताएका थिए ।

पुन नै उपस्थित बैठकबाट महासचिव लगायतका पदाधिकारी चयन गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावसँगै बैठक स्थगित भएपछि प्रश्न उठेको छ– के पुनलाई नै महासचिव बनाउन प्रचण्डले २५ पुससम्मका लागि बैठक स्थगित गरेका हुन?

माओवादी केन्द्रका बरिष्ठ नेता दीनानाथ शर्मा प्रचण्ड कसलाई महासचिव बनाउने पक्षमा छन् भन्ने कुरा अझै यकिन गर्न नसकिने बताउँछन् । तर, उनको भनाईमा, १९ पुसको पहिलो बैठक स्थगित हुनुको कारण पुनलाई नै महासचिव बनाउनका लागि चाहिँ होइन ।

नेपाल खबरबाट साभार

प्रतिक्रिया दिनुहोस्