इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको हार


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले फराकिलो हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७–२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए । भिल्ला पार्कमा खेलको चौंथो मिनेटमा वाटकिन्सको गोलबाट एस्टनले अग्रता लिएको थियो । २२ औं मिनेटमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई २–० को अग्रता दिलाए ।

खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अवस्थामा ल्याए । ३५ औं मिनेटमा म्याकजिनले गोल गरेपछि एस्टनको अग्रता ३–१ को बन्यो।

खेलको ३९ औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरेपछि पहिलो हाफमा एस्टन ४–१ ले अघि रह्यो ।

५५ औं मिनेटमा बार्क्लीले गोल गर्दै एस्टनलाई ५–१ को अग्रता दिलाए । ६० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५–२ को अवस्थामा ल्याए ।

खेलको ६६औं मिनेटमा ग्रेयलिसले गोल गरेपछि एस्टनले ६–२ को अग्रता बनायो । त्यसपछि खेलको ७५ औं मिनेटमा ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ७–२ को सानदार जित दिलाए ।

सन् १९६३ पछि पहिलो पटक लिभरपुलले ७ गोल व्यहोरेको हो । सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।

गत सिजन अन्तिम खेलसम्म रेलिगेशनका लागि संघर्ष गरिरहेको भिल्लाले सन् १९६२ पछि पहिलो पटक प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । उसले सुरुवाती तीनै खेलमा शतप्रतिशत जित आत्मसाथ गर्दै लिगको दोस्रो स्थानमा छ ।

भिल्लाले पहिलो पटक च्याम्पियन क्लबलाई घरेलु मैदानमा पराजित गरेको हो । सन् १९९८ को डिसेम्बरमा उसले आर्सनलमाथि ३–२ को नतिजा आत्मसाथ गरेको थियो ।
एस्टन भिल्लाले प्राप्त गरेको जितलाई यस सिजनकै अप्रत्यासीत नतिजा मानिएको छ ।

जितसँगै एस्टनले ३ खेलबाट ९ अंक जोडेको छ । अपराजित एस्टन दोस्रो स्थानमा समेत उक्लिएको छ ।

लिभरपुलको यो पहिलो हार हो । ४ खेलमा लिभरपुलले ९ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्