कांग्रेसको पूरा मतपरिणाम यस्तो छ (सूचीसहित)


ओकेजनता डेस्क
७ पुष २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अझै जारी छ । मंसिर २४ देखि २७ सम्म भएको महाधिवेशनको सम्पूर्ण मतपरिणाम अझै सार्वजनिक भएको छैन । १३४ पदका लागि भएको निर्वाचनमा पाँच सय भन्दा बढी उम्मेदवार थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार साँझसम्म पदाधिकारी, खुला ३५ केन्द्रीय सदस्य, महिला खुला, भूगोलको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्र, मधेशी, थारु र मुस्लिम गरी ९७ पदको मतपरिणाम सार्वजनिक भएको हो ।

केन्द्रीय सदस्यमा दलित, आदिवासी जनजाती र खसआर्य गरी ३७ पदको मतगणना जारी छ । मंसिर २७ गते मतदान सकिएपछि सोही राति सभापति पदको मतगणना भएको थियो । पहिलो चरणमा सभापति पदमा बहुमत नआएपछि मंसिर २८ गते दोस्रो चरणको मतदान भएको थियो ।

दोस्रो चरणबाट सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । दोस्रो चरणमा देउवा र डा। शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा देउवा, कोइरालासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङबीच सभापति पदमा निर्वाचन भएको थियो ।

मंसिर २८ गतेको राति नै सभापति पदको मतगणना सकिएपछि दोस्रो दिनदेखि अन्य पदाधिकारी पदको मतगणना भएको थियो । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बुधबार रातिसम्म बाँकी सबै पदको मतगणना सार्वजनिक भइसक्ने बताएका छन् ।

देउवा समूहको दुई तिहाइ

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार संस्थापन समूह निकै बलियो अवस्थामा देखिएको छ । १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको हो । पदाधिकारीसहित केन्द्रीय सदस्य गरी देउवा समूहका ७७ जना विजयी भएका छन् भने इतर समूहबाट १९ जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित डा। शशांक कोइराला साझा उम्मेदवार थिए ।

संस्थापन इतर समूहबाट निर्वाचित १९ मध्ये समूहबाट १७ जना कोइराला समूह निकट हुन् भने महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार सिंह समूहका हुन् । बागमतीबाट केन्द्रीय सदस्य निर्वाचित राजेन्द्र केसी ९राजन० कोइराला र सिंह दुबै समूहका उम्मेदवार थिए । पदाधिकारीमा दुई उपसभापतिमध्ये एक र महामन्त्रीमा दुबै पद गुमाएको संस्थापन समूहले आठ सहमहामन्त्रीमध्ये ६ वटामा विजयी भएको थियो ।

त्यस्तै खुला ३५ केन्द्रीय सदस्यमा देउवा समूहले २५ सिटमा जित हासिल गरेको छ । महिलातर्फ नौ मध्ये ८ सिटमा संस्थापन समूह नै विजयी भएको हो । भूगोल ९सात वटै प्रदेश० बाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समूहबाट १८ जना निर्वाचित भएका छन् ।

कोइराला समूहबाट प्रदेश एकबाट राजीव कोइराला विजयी भए भने गण्डकीबाट कृष्णचन्द्र नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै बागमतीबाट निर्वाचित राजेन्द्रकुमार केसी राजन, प्रकाशमान सिंह र कोइरालाको प्यानलमा थिए ।

मुस्लिमतर्फ एक महिलासहित तीन सिटका लागि भएको निर्वाचनमा सबै उम्मेदवारी संस्थापन समूहका विजयी भएका छन् । त्यस्तै थारुतर्फ दुई महिलासहित चार सिटमा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका छन् । अल्पसंख्यक, पिछडिएको क्षेत्र र अपांगताबाट पनि केन्द्रीय सदस्यमा देउवा समूहका उम्मेदवार विजयी भएका छन् ।

मधेशी खुलातर्फ पाँच सिटमध्ये संस्थापन समूहबाट चार जना विजयी भएका छन् भने मधेशी महिलामा चार सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहले जित हासिल गरेको छ । मधेशी महिलातर्फ विजयी मुक्ताकुमारी यादव संस्थापन र कोइराला दुबै समूहको उम्मेदवारको सूचीमा परेकी थिइन् ।

मतपरिणाम सार्वजनिक हुन बाँकी ३७ पदमध्ये ३३ बढीमा संस्थापन समूहकै उम्मेदवारको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्