आज सार्वजनिक बिदा दिने निर्णय (सूचनासहित)


ओकेजनता डेस्क
६ पुष २०७८, मंगलवार

काठमाडौं । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधनमा अमरगढी नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ।

भट्टको निधनपछि सोमबार साँझ नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो।

नगरपालिकाको वडा नं ६ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय समिति प्रमुख बनेका भट्टको निधनमा दुःख व्यक्त गर्दै सम्मान स्वरूप एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

भद्र एवं भौद्धिक व्यक्तित्त्वका रूपमा रहेका भट्टको निधनले अमरगढी नगरपालिकालाई ठूलो क्षति पुगेको उनले बताए। ‘जिल्ला समन्वय समितिको प्रमुखका रुपमा रही उहाँले गर्नुभएको अभिभावकीय र समन्वयकारी भूमिका सदा स्मरणीय छ,’ वक्तव्यमा भनिएको छ ।

अमरढी नगरपालिका–६ दुमडा स्थायी घर भएका भट्टको सोमबार बेलुकी काठमाडौंस्थिति अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा भट्टको निधन भएको थियो।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासी बेहोस भएका थिए।

त्यसपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरियो। त्यहाँ ठीक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो।

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ‘ब्रेन ह्यामरेज’ भएको बताएका थिए। ०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत भएका भट्ट सातौं जिल्ला अधिवेशनबाट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश (ख) का क्षेत्रीय सभापति बनेका थिए।

५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार एकाइका पूर्वअध्यक्षसमेत हुन्। भट्ट जिल्ला समन्वय समिति महासंघ का केन्द्रीय उपाध्यक्ष पनि हुन्। जनआन्दोलनमा उनले करिब ३ महिना जेल जीवन बिताएका थिए।

०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेपछि उनीलगायत ४ जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए। माघ २५ गते उनीहरू जेल परेका थिए।

भट्टको मंगलबार बिहान पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्