कर्णालीका मुख्यमन्त्री शाहीको प्रष्टोक्ति : म हारेपनि कांग्रेस जितेको छ


ओकेजनता डेस्क
३ पुष २०७८, शनिबार

काठमाडौं । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही पार्टी भित्रको आन्तरिक चुनावमा पराजित हुन पुगेका छन् । शुक्रबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मतगणना हुन केही समयअघि मात्रै टेलिभिजनसँगको अन्तरवार्तामा आफू जित्नेमा ढुक्क भएको बताएका थिए ।

‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ । म निर्विरोध हुँ,’ उनले भनेका थिए । तर, सह–महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक हुँदा भने उनको दाबीले फेल खायो । उनी सह–महामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग हार्न पुगे । सभापति शेरबहादुर देउवा समूहका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् ।

उनी पराजित भएसँगै सामाजिक सञ्जालमा उनले ‘रक्षामन्त्री मिनेन्द्र रिजालले जस्तै नैतिकता प्रदर्शन गर्छन् या गर्दैनन् रु’ भनेर प्रश्न उठ्न थाल्यो । डा। रिजालले चौधौँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रिजालले राजनीतिमा बिरलै देखिने नैतिकता देखाएको भन्दै उनको प्रशंसा भइरहेको छ । मुख्यमन्त्री शाही पनि आफूभन्दा जुनियरसँग सहमहामन्त्रीमा पराजित भएपछि के गर्लान् भन्ने सबैले चासोका साथ हेरेका थिए । उनी उच्च ओहोदामा रहेर काँग्रेसभित्र चुनाव हार्ने दोस्रो ठुलो नेता हुन् ।

तर मुख्यमन्त्री शाही मुख्यमन्त्री पदबाट राजीनामा नदिने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले शनिबार बिहानै एक सूचना जारी गर्दै कसम खाँदै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन् । उनले भनेका छन्,‘ तपाईंहरूको म प्रतिको माया, स्नेह, साथ, सहयोग, समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईंहरूको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन ।’

नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा प्राप्त जनमतबाट मलाई सुदृढ र संगठित काँग्रेस निर्माणको यात्रामा थप ऊर्जा र हौसला प्रदान भएको छ। काँग्रेसलाई गतिशील बनाउन म झन् सक्रिय रही रहनेछु। आगामी दिनमा विचलित नभई भूमिकामा देश,पार्टी र जनताको पक्षमा लागी रहने प्रण गर्दछु।’

उनले भने,‘मैले हारे पनि काँग्रेसले नै जितेको छ। विजय मात्र लोकतन्त्रको परिभाषा होइन अनि पराजय पनि अन्तिम र मृत्यु होइन बरु सफलताको आधार हो । काम गर्नका लागि पार्टीमा पद भइराख्नु पर्छ भन्ने छैन, लिडरसिप भनेको पोष्ट होइन यो त भिजन हो अनि पर्सन होइन ‘एक्सन’ हो ।’

साथै मुख्यमन्त्री शाहीले लोकतन्त्रको सुगन्ध तथा सौन्दर्य भनेकै आवधिक निर्वाचन भएकाले निर्वाचन प्रणालीमा हार र जित खेलको स्वाभाविक र प्राकृतिक नियम भएको उल्लेख गरेका छन् । आफूलाई लोकतन्त्रको बफदार सिपाही भएको बताउँदै उनले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा वा मित्रवत् खेलमा यी सबै कुराको हेक्का राखी पिछडिएको क्षेत्र सहमहामन्त्री पदको लडाइँमा भाग लिएको बताएका छन् ।

उनले भनेका छन्,‘म पार्टीको आन्तरिक प्रतिस्पर्धाको खेलमा प्राप्त अङ्कको परिणाममा यो पटक छनोटमा पर्न सकिनँ, तर पनि मत जित्न नसके पनि मन जित्न सफल भएको छु ।’

प्रतिक्रिया दिनुहोस्