तीन कोइरालाभित्र यति ठूलो द्वःन्द्व, शेखरको पराजयमा भाईबहिनी नै बाधक


ओकेजनता डेस्क
१ पुष २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउनु चार महिनाअघि डा। शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकैठाउँ भेला भएर ‘लञ्च मिटिङ’ गरे । तत्कालीन रामचन्द्र पौडेल समूहमा सभापतिका आकांक्षी धेरै भएका बेला केन्द्रीय कमिटीमा रहेका तीना कोइरालले महामन्त्री शशांकको महाराजगञ्जस्थित निवासमा भेला भएर आफूहरु एकजुट रहेको सन्देश दिन खोजेका थिए ।

नेतात्रयले कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउन एकजुट हुने सन्देश दिएको यो पहलो पटक थिएन । पछिल्ला वर्षहरुमा तीनै जनाले पटकपटक कोइराला परिवारबाटै एउटै उम्मेदवार हुने पनि बताएका थिए ।

तर ४९ वर्ष कांग्रेसको नेतृत्व गरेको कोइराला परिवारका तेस्रो पुस्ताका तीन नेता महाधिवेशनमा एकठाउँमा उभिन सकेनन् । तत्कालीन पौडेल समूहले १४औं महाधिवेशनको उद्घाटनको दिनसम्म गरेको छलफलहरूमा शशांकले दाजु शेखरलाई समर्थन गरेनन्, बरु रामचन्द्र पौडेलको नाममा सहमति जुट्छ भने आफू छाड्न तयार छु भनिदिए ।

पौडलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले छाड्ने नभए आफ्नो टिममा बस्नुपर्ने बताए । तर प्रकाशमान र शेखरले दुबैलाई एकअर्कालाई स्वीकार गरेनन् । शेखर, पौडेलको टिममा बस्न तयार भएका थिए, तर प्रकाशमान मानेनन् र साझा उम्मेदवार बन्न सकेन ।

पौडेलले नेतृत्वको प्रतिष्पर्धाबाट अलग हुने घोषणा गरे, प्रकाशमान र शेखर सभापतिको उम्मेदवार बने । तत्कालीन पौडेल समूहका अधिकांश नेताले शेखरलाई साथ दिए, तर उनले भाइ शशांक र सुजाताकै साथ पाएनन् । गिरिजापुत्री सुजाता, प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । शशांकले पनि सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवासँग पटकपटक भेट गरेका थिए ।

यद्यपि सार्वजनिक रुपमा उनको समर्थनमा खुल्न सकेनन् । तर शेखरका लागि पनि लागेनन् । सोमबार मतदानस्थलमा सञ्चारकर्मीहरुले सोधेको एक प्रश्नमा उनले भनेका थिए, ‘मलाई दुवै गुटले मनपराएका छन् तर, म अहिलेको अवस्थामा कुनै पनि गुटको प्रतिनिधित्व गर्दिन ।’

शेखर निकट एक नेताको भनाइमा उनले म कुनै गुटमा छैन भन्नु नै देउवालाई समर्थन गर्नु थियो । किनकी उनी लामो समय तत्कालीन राममन्द्र पौडेल समूहमा थिए र त्यो समूहबाट शेखरले उम्मेदवारी दिएका थिए । शेखर निकट एक नेता भन्छन्, ‘उहाँ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार नै जानुभयो, त्यसैले उहाँको समर्थन कता थियो भन्ने स्पष्ट भइहाल्यो नि ।’

अन्ततः सभापतिमा शेखरको पराजयका लागि परिवारका तीन नेता छिन्नभिन्न हुनुपनि एउटा कारण बन्यो ।

प्रतिक्रिया दिनुहोस्