कांग्रेसमा विद्रोह शुरु : पौडेल पक्षबिनै बन्दसत्र, यस्तो बन्यो उम्मेद्वारको लिस्ट


ओकेजनता डेस्क
२५ मंसिर २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशनको बन्दसत्र सकिएको छ। रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिताबिनै बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको हो।

बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन् ।

यसैगरी बन्द सत्रमा १४ औँ महाधिवेशन तयारीका क्रममा काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पनि अनुमोदन भएको छ ।

यसअघि आज भृकुटीमण्डपको प्राङ्गणमा महाधिवेशनको भव्य रूपमा उद्घाटन सम्पन्न भएको थियो । अब शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिकाअनुसार आजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भइसकेको छ । उम्मेदवार मनोनयन दर्ता शनिबार २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्