कांग्रेस महाधिवेशन : पौडेल पक्षबाट सभापतिको उम्मेद्वारमा गगन थापामा सहमति


ओकेजनता डेस्क
२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन शुरु हुन एकदिन मात्रै बाँकी हुँदा रामचन्द्र पौडेल पक्षले सभापतिको साझा उम्मेद्वार अझै तय गर्न सकेको छैन ।

सभापतिमा आकांक्षी तीन जना प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाले आफ्नो उम्मेद्वारी फिर्ता नलिने बताएपछि समस्या सिर्जना भएको छ । यद्यपि एक जनामा सभापतिको सहमति हुने भएपछि शशांक ब्याक हट्ने बुझिएको छ ।

सहमति जुटाउनका निम्ति भन्दै पौडेल पक्षले लगातार छलफल र बहस गरिरहेको छ । बुधबार पनि पौडेल पक्ष दिनभर छलफलमा व्यस्त रहेको थियो तर, कुनै निचोेड आएन ।

पौडेलले सभापतिको साझा उम्मेद्वारमा सहमति नहुने भएपछि आफै उम्मेद्वारी दिने तयारी पनि गरेका छन् । तर, यूवा पंक्तिबाट पनि सभापतिको लागि उम्मेद्वार हुन तयार देखिएपछि पौडेल रोकिएका छन् । सभापतिको उम्मेद्वारका लागि पौडेल पक्षबाट गगन थापालाई साझा उम्मेद्वारको. रुपमा अघि सार्ने की भन्ने विषयमा पनि छलफल चलिरहेको कांग्रेस पौडेल निकट स्रोत बताउँछ ।

सबैको सल्लाह र समर्थन पाउने भएपछि थापा पनि सभापतिको उम्मेद्वारी दिन तयार रहेको पौडेल निकट नेताहरु बताउँछन् । विभिन्न पार्टीमा पुस्तान्तरणको विषय उठिरहेको अवस्थामा कांग्रेसले युवालाई उम्मेद्वार बनाउने तयारी गरिरहेको छ ।

भर्खरै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले पनि लामो समयपछि नेतृत्व परिवर्तन गरेको नजीर कायमै छ । यतिमात्र होइन राप्रपाको महाधिवेशनमा सबैलाई सम्मानजनक मतदान भएको छ ।

लामो समय अध्यक्ष रहेका कमल थापा बाहिरिएका छन् । यसरी हेर्दा कांग्रेसमा पनि अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने आवाज उठिरहेका छन् । यद्यपि गगन थापाले भने आफू सभापतिको उम्मेद्वार बन्ने/नबन्ने विषयमा केही खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्