ओलीले गरे बामदेवलाई अफर…


ओकेजनता डेस्क
१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनपछि आफूबाट अलग्गिएका समूहलाई एकीकृत गरेर लैजाने गरी छलफल शुरु गरेका छन् । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने ओलीको बाचा बमोजिम उनले पार्टी एकीकरण अभियान थालेको एमाले स्रोतले जनाएको छ ।

आफूबाट टाढिएका बामदेव गौतमलगायतका नेताहरुलाई नजिक तुल्याउनका निम्ति उनले आन्तरिक छलफल थालेको एमालेले जनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एमालेलाई पार्टी विभाजनपछि सोचेको परीणाम ल्याउन सकस देखिएको छ ।

एमालेबाट विद्रोह गरेर निर्माण भएको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने सम्भावना न्यून रहेका बेला पार्टीभित्रकै नेताहरुलाई व्यवस्थापन गर्न ओली सक्रिय भएका छन् । एमालेको अहिले शक्ति एक्लै निर्वाचनमा होमिदा सोचेको मतपरिणाम नआउने लगभग पक्का देखिएकोले स–साना शक्तिहरुलाई मिलाउन ओली उद्धत देखिएका छन् ।

ओलीले पार्टीका पूर्व उपाध्यक्ष समेत रहेका गौतमलाई मनाउनका निम्ति उनी निकट नेताहरुसँग परामर्श थालेका छन् । स्रोतका अनुसार गौतम यतिबेला ओलीसँग सम्झौत ागर्न तयार छैनन् । ओलीको प्रवृत्तिको विरोध गर्दै आएका गौतम अहिले चुपचाप घरमै बसेका छन् ।

दशौँ महाधिवेशनबाट एमालेभित्रकै दरिला नेताहरु भीम रावल र धनश्याम भुसाललाई चिडाएका ओलीले आगामी मतपरिणामलाई सहजै आंकलन गरेका छन् । सत्तासीन दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलगायतका दलहरुको आगामी निर्वाचनमा गठबन्धन बन्ने पक्का भएपछि ओलीको निदहराम भएको स्रोत बताउँछ ।

नेपाली कांग्रेसले भने निर्वाचनमा गठबन्धनसहित जाने वा एक्लै भिड्ने भन्नेबारे कुनै धारणा बनाइसकेको छैन । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै विवेकले गठबन्धनमा जाने बताइरहेका छन् । कांग्रेसभित्र यो विषयमा मतभेद कायम छ ।

प्रतिक्रिया दिनुहोस्